काठमाडौँ- व्यवासयीहरूले बजार मूल्य नपाएको भन्दै कालिमाटी तरकारी बजारमा गोलभेडा सडकमा फ्याकेर विरोध जनाएका छन् । आइतबार गोलभेडा व्यवसायीहरूले बजारमा खपत नभएको तथा बजार मूल्य नपाएको भन्दै सडकमा गोलभेडा फ्याकेको हुन् ।
उनीहरूले कालिमाटी तरकारी बजार क्षेत्रको गेट तथा बजारको क्षेत्रमा गोलभेडा फ्याकेर विरोध गरेका छन् । नेपालमा उत्पादित गोलभेडाको खपत कम भएको र मूल्य पनि नपाइएको भन्दै आइतबार किसानहरूले टमाटर फ्याँकेका छन् । गोलभेडा उत्पादक कृषक बरुणबहादुर रोक्काले नेपाली किसानहरूले उत्पादन गरेको गोलभेडाले बजार मूल्य र प्राथमिकतामा नपरेकाले सडकमा फ्याक्न बाध्य भएको बताए ।
उनले सरकारले किसानले उत्पादन गरेको तरकारीजन्य वस्तुहरूको मूल्य तोकेर सहुलियतमा उपभोक्ताले पाउनुपर्ने बताए । उनले अहिले नेपाली किसानहरूले उत्पादन गरेको वस्तुले बजार मूल्य र प्राथमिकता पाउने नपाउने तर विदेशीबाट आयात भएर आएको वस्तुले बजार लिने गरेको बताए । उनले कालिमाटी बजारमा व्यवसायीहरूले किसानसँग ८ रुपैयाँ किलो किन्ने र बजारमा उपभोक्तालाई ४० रुपैयाँमा बेच्न नहुने जिकिर गरे ।
उनले सरकारले किसानले पाउने मूल्य र उपभोक्ताले खरिद गर्ने मूल्य तोक्न नसक्नुले विकृति भइरहेको बताए ।
कालिमाटी तरकारी बजारमा किसानहरूले तीन/चार सय क्रेट जति गोलभेडा सडकमा फ्याकेका छन् । किसानहर”ले करिब ३० हजार किलो गोलभेडा कालीमाटी बजारको गेट, भित्री सडक र बजारमा फ्याँकिएको छ । फ्याँकिएका गोलभेडा रामकोट, नागार्जुन, थानकोट,भत्तपुर लगायत क्षेत्रमा फलेका गोलभेडा हुन् ।